७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

त्रिवि पत्रकारिता विभागका पूर्वविद्यार्थीको ‘अल्मुनाइ’ गठन


२२ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको भेलाले आज पूर्व ‘अल्मुनाइ’ गठन गरेको छ ।

विभागका प्रमुख प्रा चीरञ्जीवी खनालको उपस्थितिमा भएको भेलाले माधवप्रसाद तिवारीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लीला भट्टराई, सचिवमा शन्तराम विडारी र कोषाध्यक्षमा पूर्णिमा पराजुली रहेका छन ।

यस्तै सदस्यहरुमा लोकेन्द्र केसी, हेलिमा राई, बाबुराम तिमल्सिना, सुनील पौडेल, प्रवीण पोखरेल, कुमारसिंह विष्ट, सौगात मिश्र, सोमप्रसाद डोटेल र सन्तोगा रोकाया रहेका छन । यसअघि विभागीय प्रमुख खनालसहितको पूर्व विद्यार्थीको भेलाले उपप्राध्यापक डा जगत नेपाल, माधवप्रसाद तिवारी र लीला भट्टराई रहेको एक कार्यदल गठन गरेको थियो । सो कार्यदलको सुझाव समेतको आधारमा बिहीबार केन्द्रीय विभागमा भएको पूर्व विद्यार्थीहरूको भेलाले अल्मुनाइ गठन गर्ने निर्णय गरेको हो ।

भेलामा विभागका प्रमुख प्रा खनालले पत्रकारिता अध्ययन गरेका पूर्वविद्यार्थीहरु विभिन्न सञ्चारमाध्यमका साथै देशदेशान्तरमा कार्यरत हुन पुगेको स्थितिमा अल्मुनाइ ती सबैलाई जोड्ने सेतु बन्न सक्ने बताउनुभयो ।  विश्वविद्यालयले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि तथा २०७४ सालदेखि  दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार २२:०८