अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
७ चैत, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज चैत ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आजसम्म आवेदन दिने सकिने छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। सिडीएससिका अनुसार चैत ६ गते, साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रद सेयरमा १ करोड १५ लााख ७६ हजार ८०० कित्ताका लागि आवेदन परेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार ०९:३९












