१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

भ्यू टावर बनाएपछि चिम्टेश्वरबाट २० जिल्ला देख्न सकिने भएको छः पूर्वमन्त्री केशवराज पाण्डे


४ फागुन, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सकारका पूर्वमन्त्री केशवराज पाण्डेले फागुन ७ गते हुने चिम्टेश्वरको कार्यक्रममा सहभागी हुन सम्पुर्णमा अपिल गरेका छन । दैनिकीसँग कुरा गर्दै उनले नुवाकोटको बेलकोटगढी नगरपालिकामा अवस्थित रहेको निकै मनमोहक पर्यटकीय स्थल चिम्टेश्वरको प्रवर्द्धनका लागि बृहद सांस्कृतिक कार्यक्रमसहितको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले सांस्कृति कार्यक्रमसँगै वनभोजको कार्यक्रम समेत राखिएको जानकारी दिए ।

पाण्डेले भ्यू टावर नबन्दासम्म १६ जिल्लामात्र देखिने चिम्टेश्वरबाट अहिले २० वटा जिल्ला देखिने बताए । उनले चिम्टेश्वरको विकासका लागि  नेकपा एमालेको सरकारले धेरै काम गरेको र अहिले सत्ता बाहिर हुँदा पनि त्यस क्षेको विकासका लागि काम गर्न चाहेको बताए । उनले अहिले मुख्य रूपमा सरसफाइ र प्रवर्द्धनको काम गर्न लागेको जानकारी दिए ।

पर्यटकीय स्थलको रूपमा चिम्टेश्वरको प्रवर्द्धनको काम नेकपा एमालेले सुरूवात गरेका कारण अहिले पनि त्यसैका लागि बेलकोटगढी नगरकमिटीको नाममा अगुवाइ गरिएको बताए । उनले फागुन ७को विशेष दिनमा चिम्टेश्वरको कार्यक्रममा पर्यटन क्षेत्रदेखि सबै क्षेत्रका मानिसहरूलाई निमन्त्रणा गरिएको पनि बताए । पाण्डेले गरेको अनुरोध तल सुन्न र हेर्न सक्नुहुन्छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको चिम्टेश्वर क्षेत्रको प्रवर्द्धनका लागि नेकपा एमालेले बृहत सांस्कृतिक कार्यक्रमसहितको वनभोज  गर्दैछ । यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर एमालेले बृहत वनभोज र सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमारी र दुईपिपल गाउँ विकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । त्यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ । अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ ।

चिम्टेश्वरबाट तत्कालीन वागमती अञ्चलका सबै जिल्ला जनकपुर अञ्चलका दोलखा र रामेछाप, नारायणी अञ्चलका मकवानपुर र चितवन तथा गण्डकी अञ्चलका गोरखा तथा लमजुङ र तनहुँका हिमालहरुको एकै स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ ।

नुवाकोट आक्रमणको पहिलो किल्लाका रुपमा चिनिएको चिम्टेश्वर मन्दिरमा सतीदेवीको कुनै अङ्ग पतन भई शिवलिङ्ग उत्पत्ति भएकाले सो स्थलको नाम चिम्टेश्वर रहन गएको श्रीस्वस्थानी कथामा उल्लेख रहेको छ । अर्को किवंदन्तीअनुसार महादेवले समुद्र मन्थनपछि पिएको कालकूट विषको डाह शान्त गर्न उत्तरापन्थ लाग्दा थकाइ लागेपछि विश्रामका लागि सो स्थलमा बसेर हिँड्दा चिम्टा हराएकाले पनि सो स्थानको नाम चिम्टेश्वर रहेको मानिन्छ । चिम्टेश्वरमा बालाचर्तुदशी, हरितालिका, शिवरात्रि र वैकुण्ठ चतुर्दशीमा विशेष पूजा र मेला लाग्छ ।

विक्रम संवत २०६९ सालको चैत्र ३० गते र २०७० सालको वैशाख १ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको आयोजनामाा नुवाकोटको रानीपौवाबाट चिम्टेश्वर हुँदै देवीघाटसम्मको पदयात्रा गरिएपछि यस क्षेत्रको पर्यटकीय महत्व प्रकाशमा आउन थालेको हो । उक्त पदयात्राका संयोजक चन्द्र रिजाललाई तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पर्यटन व्यवसायी संगठनको झण्डा हस्तान्तरण गरेका थिए भने पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र माधवकुमार नेपाल ककनीको केन्द्र रानीपौवा बजारबाट पदयात्रामा सँगै हिडेर चैत्र ३० गते चिम्टेश्वरडाँडामै बास बसेका थिए ।

उक्त पदयात्रामा तीन सय भन्दा बढी नेता, व्यवसायी, पत्रकार र कलाकारको टोलीले एक रात चिम्टेश्वरमा बिताएको थियो । पदयात्रामा नेपाली कांग्रेसका नेता डा शेखर कोइराल, डा मिनेन्द्र रिजाल लगायत पत्रकार र कलाकारहरू उक्त पदयात्रामा सहभागी भएका थिए ।

नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियान र शाहसँग जोडिएका नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठनको निर्णय समेत गरेका थिए । यद्यपी अर्थ मन्त्रालयले समयमै सहमति नदिँदा ढकालले उक्त सपना पूरा गर्न पाएनन् । ढकालले ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘विकास समिति ऐन, २०१३’ को दफा ३ बमोजिम उक्त विकास समिति गठनको घोषणा गरेरै काम गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १९:४७