२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

अब नेपाली चिकित्सक मात्रैले कलेजो प्रत्यारोपण गर्ने, नुवाकोटका एक पुरूषको प्रत्यारोपण सफल

१८ माघ, काठमाडौँ । अब नेपाली चिकित्सकहरूको समूहले मात्रै पनि कलेजो प्रत्यारोपण गर्न सक्ने भएको छ । योसँगै नेपालमा ११ औँ व्यक्तिको कलेजोको सफल प्रत्यारोपण समेत भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण सफल भएको हो ।

त्रिवि शिक्षण अस्पतालमै कार्यरत कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा पुस २७ गते नुवाकोटका एक ४१ वर्षीय पुरूषको कलेजोको सफल प्रत्यारोपण भएको हो । ती पुरूषको कलेजो प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संलग्नता रहेको थियो । लगातार ११ घण्टाको प्रयासमा कलेजो प्रत्यारोपण सफल भएको कलेजो प्रत्यारोपण विशेषज्ञ डा भण्डारीले बताएका छन ।

नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण भएको यो पहिलो पटक हो । नेपालमा यसअघि ११ जनाको कलेजो प्रत्यारोपण भैसकेको छ । त्रिवि शिक्षण अस्पतालमै १० औँ जनाको कलोज प्रत्यारोपण भएको हो । यसअघि भएक नौ जना विरामीको कलेजो प्रत्यारोपणमा भारतीय चिकित्सक संलग्न रहेका थिए ।

नेपालमा पहिलो पटक मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका शल्यचिकित्सक टोलीले २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण गरेको थियो । नुवाकोटका ती ४१ वर्षीय पुरूषको कलेजो प्रत्यारोपणका लागि उनको श्रीमतिले कलेजो दान गरेकी थिइन । श्रीमतिको कलेजको प्राप्त गरेर स्वस्थ भएका ती पुरूष बिहीबार अस्पतालबाट घर फर्किदैछन । उनको अधिक मदिरा सेवनका कारण कलेजोमा समस्या देखिएको थियो ।

चिकित्सकहरूले बढीमा ३० लाख रूपैयाँमा नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिने निष्कर्ष निकालेका छन । अहिले भारत लगायतका देशमा कलेजोको प्रत्यारोपण गर्न करिब एक करोड रूपैयाँ खर्च हुने गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०८:४१