१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कुमारी बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा पनि ऋणात्मक

७ माघ, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। पुस मसान्तसम्ममा बैंकले ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा ५.०८ प्रतिशत घटेर १ अर्ब ४९ करोड ३५ लाख १७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७७ करोड १८ लाख ३४ हजार रुपैयाँ ऋणात्मक रहको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड पुगेको छ। २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ रहेको छ । बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १०:४३