७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

वीर अस्पतालमा स्तन क्यान्सर परीक्षणका लागि ‘मेमोग्राम’ सञ्चालन

२५ पुस, काठमाडौँ ।  वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा पहिल्यै क्यान्सरका लक्षण पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिने जनाउँदै सरकारी अस्पतालमा पहिलो पटक अत्याधुनिक क्यान्सर स्क्रिनिङ उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार ४० वर्षभन्दा माथिका महिलाको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि उक्त उपकरण प्रयोग गरिन्छ ।

“क्यान्सरका लक्षण देखापर्नु अघिको अवस्थामा पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिन्छ । यो परीक्षणको एउटा विधि हो । क्यान्सर फैलनुअगावै थाहा पाउन सकियो भने प्रभावकारी उपचार गर्न सकिन्छ”, डा पौडेलले भने । उनका अनुसार अहिले दैनिक तीन देखि चारजना महिलाको क्यान्सर स्क्रिनिङ गरिँदै आइएको छ । स्तनमा क्यान्सरको समस्या देखिनु भन्दा पहिले नै लक्षण पहिचान गर्नका लागि यो विधि प्रयोग गरिने उनको भनाइ थियो ।

स्तन क्यान्सरको स्क्रिनिङ गर्नका लागि रू एक हजार पाँच सय शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालका महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेकाले समयमा नै स्क्रिनिङ गर्न आवश्यक रहेको बताए । उनका अनुसार महिलामा देखिने पहिलो क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । नेपालमा दैनिक तीन जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको डा शाहीले जानकारी दिए । समयमा नै स्तन क्यान्सर सम्बन्धिका रोग पत्ता लगाउन सके प्रभावकारी उपचारका माध्यमबाट बिरामीलाई बचाउन सकिने उनको भनाइ थियो ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीले स्तनपान नगराउने, विवाह नगरेका, सानै उमेरमा महिनावारी हुने, चाँडै महिनावारी सुक्ने, दिनमा सुत्ने तथा रातमा काम गर्ने वा जाग्राम बस्ने महिलालाई स्तन क्यान्सर हुने गरेको बताए । मोटोपन, धूमपान गर्ने, व्यायाम नगर्ने, वंशाणुगत गुण र कुनै क्यान्सर भएका महिलालाई रेडियसन दिँदा (सेक्दा) पनि पछि स्तन क्यान्सर हुने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : January 10, 2024 at 4:30 pm