१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नबिल बैंकको सिईओको तलब ४३.८३ प्रतिशतले घट्याे

१६ पुस, काठमाडाैं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई दिने तलब भत्ता घटाएकाे छ । बैंकले गत आर्थिक वर्षमा सीईओलाई दिने तलब भत्ता ४३.८३ प्रतिशतले घटाएको हाे ।

बैंकले अघिल्लो आर्थिक वर्षमा सीईओलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिने गरेको थियो । गत आवको सोही अवधिमा बैंकले सीईओलाई दिने तलब भत्ता ४३.८३ प्रतिशतले घटाएर १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ दिएको जनाएको छ ।

बैंकले सीईओलाई गत आर्थिक वर्षमा अल्पकालीन कर्मचारी लाभबापत १ करोड ५१ लाख २८ हजार ६३३ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । जसमा तलब बापत मात्रै गत आर्थिक वर्षमा सीईओलाई ७९ लाख २० हजार, अन्य लाभ र सुविधाबापत ७२ लाख ८ हजार ६३३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ ।

यस्तै सञ्चालकका लागि गरेको खर्च भने बढेको बैंकले जनाएकाे छ। बैंकले सञ्चालकका लागि गर्ने गत अघिल्लो आवको तुलनामा गत आवमा १४.५६ प्रतिशतले बढेको छ ।

अघिल्लो आवमा बैंकले सञ्चालकको भत्ता बापत ९८ लाख ५५ हजार ६२२ रुपैयाँ खर्च गरेको थियो । गत आवमा १ करोड १२ लाख ९० हजार ७०५ रुपैयाँ खर्च गरेको छ । हाल नबिल बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् । ढुंगाना २०७९ असार १७ गतेदेखि बैंकमा सीईओ रहेका छन् । उनले तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १४:४४