२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ पुस, काठमाडौं । विभिन्न आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर र हिमालयन डिष्टिलरीले भोली पुस १३ गते, राधी विद्युत कम्पनीले पुस १५ गते बुकक्लोज गर्दैछन्। त्यसैगरी, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले पुस १६ गते बुकक्लोज गर्ने भएका छन्।

यसकाे अर्थ आजसम्म कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आइसिएफसि फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्दैछ। सोही लाभांश पारित गर्ने प्रस्तावसहित कम्पनीले पुस २९ गते आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।

सिक्लेस हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ। कम्पनीले पुस २७ गते शुक्रबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यस्तै, हिमालयन डिष्टिलरीले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) गरी जम्मा २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीले पुस २५ गते लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

राधी विद्युत कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्दैछ। सोही प्रस्तावसहित कम्पनीले पुस २९ गते आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। वेबिनारबाट उपस्थित हुन सकिने सो सभा बिहान ११ बजे शुरु हुनेछ।

आत्मनिर्भर लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजे शुरु हुनेछ।

घोराही सिमेन्टले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने भएको छ । कम्पनीले पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे शुरु हुनेछ।

त्यसैगरी, सपोर्ट लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

साना किसान लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीले पुस २९ गते, कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।

प्रकाशित मिति : December 28, 2023 at 9:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/