२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न, प्रथमलाई ७५ हजार पुरस्कार

९ पुस, काठमाडाैं। मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा प्रतियोगिता भएको हो ।

‘मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शुरु गरिएको यो प्रतियोगितामा सप्तरीकी मिथिला चित्रकार रुबी कर्ण पहिलो भइन् ।

यस्तै, महोत्तरीकी नेहा कुमारी दोस्रो र धनुषाकी बिना कर्ण तेस्रो बने । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र पाए । प्रतियोगितामा १२ जनाले सान्त्वना पुरस्कार जिते । उनीहरूले जनही ११ हजार रुपैयाँसहित प्रमाणपत्र पाए ।

तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए । प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार शयाम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहेका थिए ।

शौर्य सिमेन्टका प्लान्ट हेड गुरु दयाल सिंहको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ठ साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रश्मि रानीसहित विभिन्न वडाका वडाध्यक्षहरूको पनि सहभागिता थियो ।

शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज कुमार महतले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सन्तोष लाल दासले गरेका थिए ।

प्रकाशित मिति : December 25, 2023 at 2:58 pm