६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

भानुभक्त आचार्यको सुझावः त्रिविले थप ११ विधामा विश्व रेकर्ड बनाउन सक्छ

३ पुस, काठमाडौँ । क्यानडाको ओटावा विश्वविद्यालयका सहप्राध्यापक भानुभक्त आचार्यले त्रिविले एकै पटक धेरै विद्यार्थी उपस्थिति गराएर विश्व रेकर्ड गरेकोमा व्यंग्य गर्दै वेथितिका अन्य ११ विषयमा पनि विश्व रेकर्ड राख्न मिल्ने भन्दै सुझाव दिएका छन । केही वर्षदेखि क्यानडामा बसेर प्राध्यापन गर्दै आएका आचार्यले विश्वविद्यालयको विकृतिमा ध्यानाकर्षण गराउन खोजेको देखिन्छ । उनले विश्व रेकर्डकै लागि योग्य छन भनेर त्रिविलाई दिएका सुझाव तल हेर्न सक्नुहुन्छ ।

त्रिविले विश्वै सबैभन्दा ठूलो उपस्थितिमा सबैभन्दा बढी विद्यार्थीको दीक्षान्त समारोहको रेकर्ड बनाउन खोजेछ। वास्तवमा त्रिविका रेकर्ड कति छन् कतिरु यहाँ केही नमुना छन्।

१. चार वर्षको स्नातक सक्न छ वर्ष । परीक्षा तालिका निस्किएर म्याद सकिँदा पनि अघिल्लो वर्षको नतिजा आउँदैन । नतिजा आउँदा परीक्षा फारम भर्ने म्याद खतम । संसारमा यस्तो त्रिविमा मात्रै हुन्छ ।

२. स्नातकोत्तर तह पास गर्न कम्तिमा ३ देखि ४ वर्ष । यति लामो समयको स्नातकोत्तर संसारमा कहीँ हुन्न ।

३. पिएचडीको हदम्याद आठ वर्षसम्म । तर ६ वर्षसम्म प्रपोजल लेख्ने तहसम्म नपुर्याएर आफ्ना विद्यार्थीलाई रीस पोखिन्छ । अब बाँकी दुई वर्षमा कसरी गुणस्तरीय अनुसन्धान सहितको पिएचडी तयार हुन्छ रु यो आफैंमा अर्को रेकर्ड होइन ?

४. परीक्षा प्रश्नपत्र अघिल्लो वर्षकै आउन पनि सक्छ । नपढाएको आउन पनि सक्छ । नयाँ पाठ्यक्रम पढ्नेलाई पुरानोको र पुरानो पाठ्यक्रमवाला विद्यार्थीलाई नयाँ पाठ्यक्रम अनुसार प्रश्न आउन सक्छ । भगवान भरोसे ।

५. राम्रो लेखेर पास हुइन्छ भन्ने ग्यारेन्टी हुन्न । फेल हुन पनि सकिन्छ । किन यस्तो भनेर प्रश्न गर्ने ठाउँ छैन । रि–चेक हुन्न । रि–टोटल हुने हो । विद्यार्थीले कानुनी लडाइँ लडेर कपी हेर्न सजिलो छैन । विद्यार्थीका परीक्षा पुस्तिका जथाभावी जाँच्ने, आफ्ना भाइ–भतिजालाई जाँच्न दिएर त्यसको पैसा ह्वाम पार्ने मास्टर कति कति ।

६. तीन घण्टा समय दिएर लेखेको परीक्षा पुस्तिकालाई मास्टरले छिटो सक्ने नाउँमा तीन मिनेट समय पनि दिन्नन् । यस्तो चाँढो परीक्षण गर्ने मास्टरका नाउँमा पनि एउटा विश्व रेकर्ड राख्न मिल्छ ।

७. त्रिविमा विभागीय प्रमुख वा पहुँचवालाहरूलाई मन परेका चेलाचेलीलाई गोल्ड मेडलिस्ट बनाउन मिल्छ ।

८. आठ वर्षअघि एउटा विद्यार्थीले जे विषयमा स्नातकोत्तर तहमा थेसिस गर्यो, त्यही विषयमा उही थेसिस चोरचार गरेर त्यही सुपरभाइजरलाई बुझाउँदा पत्तो हुन्न । सुपरभाइजरको यो हालत, विद्यार्थीको त कुरै छाडौँ ।

९. बौद्धिक चोरीमा डामिएका व्यक्तिलाई उपकुलपति बनाउने संसारको एकमात्र विश्वविद्यालय

१०. राजनीतिक दलका भ्रातृसंगठनको नियन्त्रणमा भएको संसारको एकमात्र विश्वविद्यालय, जहाँ उपकूलपति आफ्नो कार्यालयमा तालाबन्दी भएकाले काम गर्न पाइन भन्दै अन्तर्वार्ता दिएर हिड्नुपर्छ ।

११. परीक्षाको अघिल्लो दिनसम्म स्ववियु वा विद्यार्थी संगठनको दबाबमा विद्यार्थी भर्ना गरिरहनु पर्ने बाध्यता भएको संसारको एक मात्र विश्वविद्यालय ।

प्रकाशित मिति : December 19, 2023 at 8:09 am