२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मेरै निर्देशनमा बैंकका कर्मचारीलाई प्रहरी कार्यालय पुर्याएका हुन्ः दुर्गा प्रसाईं

१९ मंसिर, काठमाडाैं  । ऋण नदिएको भन्दै दुर्गा प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारीलाई पुलिसकहाँ पुर्याएका छन् । मंगलबार प्रसाईंका कार्यकर्ताले ऋण नदिएको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे बिर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई बैंककाे कार्यकक्षबाटै प्रहरी कार्यालय पुर्याएका हुन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको झापाको बिर्तामोडमा रहेको शाखाले ५ करोड ऋण स्वीकृत भएकोमा ३ करोड २७ रुपैयाँ मात्र दिएकाे भन्दै प्रसाईंका कार्यकर्ताले  पनेरुलाई प्रहरी कार्यालय पुर्याएकाे बताइएकाे छ ।

यता, प्रसाईंले भने आफूहरूले बैंककाे कर्मचारीलाई अपहरण गरेको नभई सोधपुछको लागी प्रहरी कार्यालय उभ्याइएको बताएका छन् । ‘मेरै निर्देशनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एक कर्मचारीलाई इलाका प्रहरी कार्यालय विर्तामोड पुर्याएका हुन् ।’ प्रसाईंले भने,’अपहरण भन्दै हल्ला फैलाइएको छ । यो हाम्रो अभियानविरुद्धको षड्यन्त्र हो ।’

प्रसाईंले मंसिर ७ देखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’का नाममा ऋण मिनाहा गर्नेदेखि राजा फर्काउनेसम्मका नारासहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १४:०८