२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

पक्राउ पुर्जीविरूद्ध विप्लवले गरे संघर्षका कार्यक्रम घोषणा

१९ मंसिर, काठमाडाैं । जिल्ला अदालत काठमाडौंले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संघर्षका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विप्लवले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएको ३ बुँदे सहमतिमध्ये एउटा पार्टी नेताका कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको उल्लेख छ ।

पक्राउ पुर्जीविरूद्ध नेकपाले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ । १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले घोषणा गरेको छ ।

प्रकाशित मिति : December 5, 2023 at 12:56 pm