३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

किन गर्यो नेप्सेले तारा गाउँ रिजेन्सी होटलको कारोबार रोक्का ?

१८ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का गरेको छ । लाभांशको निर्णय समयमा नै उपलब्ध नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गर्नुको साथै कम्पनीलाई स्पष्टीकरण समेत सोधेको छ।

कम्पनीको गत शनिबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो, तर हिजो आइतबार बेलुका ५ः १५ बजे मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो ।

लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ । तर कम्पनीले सो नियम उल्लघन गरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोधेर कारोबार रोक्का गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ (१) (ख)मा भएको व्यवस्था अनुरुप २०८० साल मङ्सिर १८ को निर्णायअनुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई पठाएको पत्रमा भनिएको छ । साथै उक्त पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रकाशित मिति : 11:58