११ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?
१७ मंसिर, काठमाडौं । हालसम्म ११ वटा बैंकले लाभांश घोषणा गरेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमध्ये ११ वटा बैंकले मात्रै गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआइ बैंक, नबिल बैंक र एनएमबी बैंक रहेका छन्। लाभांश घोषणा गरेका बैंकहरूमध्ये पनि एनआइसी एशिया बैंकले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ। बैंकले २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
त्यस्तै, एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरी कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
यस्तै, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने घोषणा गरेको छ।सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश मात्र दिने भएको छ।
सिद्धार्थ बैंकले पनि यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। बैंकले ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
नेपाल एसबिआइ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, नबिल बैंकले यो वर्ष सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
साथै, एनएमबी बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ। माथि उल्लेखित बैंकहरूमध्ये नेपाल एसबिआई बैंक र नबिल बैंक बाहेकका सबै बैंकको बुक क्लोज भइसकेको छ। भने माछापुच्छ्रे बैंकको लाभांश साधारण सभाले पारित गरेर नेप्सेमा सूचीकृत समेत भइसकेको छ।
प्रकाशित मिति : 14:29









