२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङको आईपीओ बिक्री खुला, प्रतिकित्ता मूल्य कति ?

१० मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले आज मंसिर १० गते आइतबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ।

त्यस्तै कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। कम्पनीले बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर बिक्री गर्न लागेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि छिटोमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ।

प्रकाशित मिति : 10:00