२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

जातीय विभेदको मुद्दामा कांग्रेस नेता भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद

७ मंसिर, काठमाडौँ । जातीय विभेदको मुद्दामा कांग्रेस नेता भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना भएकोछ । जिल्ला अदालत कास्कीले जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका २४ का अध्यक्ष समेत रहेका भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

दलित महिला वडा सदस्य मैया नेपालीको मुद्दामा सुनवाइ गर्दै जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार उक्त फैसला गरेको हो । अदालतले मैयालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश समेत दिएको छ ।

आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि दलित महिला सदस्य नेपालीले मुद्दा हालेकी थिइन । २०७९ पुस २४ मा मैयाँले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन । पुस २६ मा पक्राउ परेका वडा अध्यक्ष अधिकारी माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । अब उनी फेरि पक्राउ परेर कारागार चलान हुनेछन । उजुरी दिने महिला वडा सदस्य भने नेकपा एमालेकी नेतृ हुन ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १८:४७