२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बुक बिल्डिङ्ग प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला, कहिलेसम्म पेश गर्ने आवेदन ?

६ मंसिर, काठमाडाैं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रिया मार्फत सेयर निष्काशन गर्दैछ। कम्पनीले आज (मंसिर ६ गते) देखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गरेकाे हाे ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयरका लागि सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ। कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गर्न लागेको हो।

कम्पनीको सेयरमा मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिनेछ। उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँड हुनेछ । उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : November 22, 2023 at 11:17 am