१८ पुष २०८१, बिहीबार | Fri Jan 3 2025

५ मङ्सिर, गलकोट । पेसाले जलविद्युतका इन्जिनियर हुनुहुन्छ बागलुङको बिहुँका खिमानन्द कँडेल । उनले कोरोनाकालमा गाउँ फर्केर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो । चितवन र काठमाडौँको बजारमा पनि किबी पुगेको छ । प्रतिकेजी रु ३०० देखि रु ५००मा किबी बिक्री गर्नुभएका कँडेलले पहिलो वर्ष नै किबीबाट रु एक लाख भित्र्याए ।

गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७ सालमा १२ रोपनी जग्गामा दुई सय २५ किबीका बिरुवा लगाएका उनले पहिलोपटक किबीलाई बजारमा पठाएको बताए । बागलुङको काठेखोला गाउँपालिका–५ थामडाँडा निवासी कँडेलले आफ्नो पुख्र्याैली जग्गामा किबी खेती गरे । सुरुमा लगानी र मेहनत दुवै लागे पनि निरन्तर आम्दानी गर्न सकिने किबी खेती लकडाउनमा समय कटाउनका लागि लगाइए पनि अहिले व्यावसायिक बनेको उनको भनाइ थियो ।

लकडाउनमा काठमाडौँस्थित इन्जिनियरिङ कन्सल्टेन्सीमा काम नभएपछि लामो समय बागलुङको बिहुँ बस्नुभएका कँडेलले लकडाउनको समयलाई भरपुर सदुपयोग गरेको जानकारी दिए । “सानैदेखि राजनीतिमा समेत सक्रिय थिएँ, पेसाका कारण काठमाडौँमा केन्द्रित थिए तर २०७७ सालमा लामो समय नेपालमा लकडाउन भएकाले कोरोना छल्न गाउँ आएको थिए”, इन्जिनियर कँडेलले भने, “बजारमा किबीको भाउ रु छ सय केजी थियो, खेत र कोदोको भन्दा तेब्बर आम्दानी दिन सक्दो रहेछ भनेर एक महिना लगाएर खाडल खने, थाक्राको व्यवस्थापन गरे र किबी लगाएँ ।”

कोरोना महामारी सामान्य भएपछि काठमाडाँै गएँ तर किबीका बिरुवा हुर्कंदै गए । बीच–बीचमा किबीको स्याहारसुसार गर्न गाउँ आए पनि भाइ र बुबाले सहयोगसमेत सहयोग गरेको उनले बताए । दुई सय २५ किबीका बिरुवामध्ये एक सय बिरुवामा किबी फल्न थालेको र आगामी वर्षदेखि वार्षिक रु तीन लाखसम्मको किबी बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

उनले तेब्बर आम्दानी दिने र कम मेहनत गर्ने भएपछि कोदो र धान खेती छोडेर किबी खेती लगाइएको बताए । “कोदो र धान खेतीमा कति दुःख छ, मेहनत अनुसारको आम्दानी हुँदैन, खान पुग्दैन,” कँडेलले भने, “दुई सयप्रति केजीमै बिक्री भए पनि कोदो र धान खेतीभन्दा तेब्बर आम्दानी हुन्छ, कोदो र धानलाई जस्तो धेरै मेहनतसमेत गर्न पर्दैन ।” किबीमा एकपटक लगानी गरेपछि वर्षौंसम्म मलजल मात्रै गरे पुग्ने भएकाले यहाँका अन्य किसानसमेत किबी खेतीतर्फ आकर्षित भएका हुन् । किबी खेतीका लागि किसानलाई सहज बजारीकरण गर्न भने कठिन रहेको उनको भनाइ थियो ।

विसं २०४६ सालदेखि नेकपा एमालेको विभिन्न पदमा रही काम गर्दै आएका कँडेल २०७९ साल मङ्सिरमा सम्पन्न सङ्घीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं १ बाट निर्वाचित चित्रबहादुर केसीसँग प्रतिस्पर्धा गरेका थिए । उनले दस हजार मतसमेत प्राप्त गरे । कँडेलले राजनीतिमा लाग्न पनि आफ्नो आर्थिक स्रोत चाहिने भएकाले किबी खेती गरेको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १६:२१