२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

चालक शौचालय हिडेँपछि भीरबाट खसेको थियो यात्रुले भरिएको जीप

३ मंसिर, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिको गुर्जेभन्जयाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । १३ जना यात्रु सवार रहेको गाडी गुर्जेको प्रहरी चौकी नजिकैबाट भीरमा खसेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले दैनिकीसँग कुरा गर्दै ना १ ज ६३३१ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएको पुष्टि गरे ।

डिएसपी खड्काले घाइतेहरूको उद्धार गरी काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका लागि पठाइएको जानकारी दिए । घाइते मध्ये अन्दाजी २६ वर्षीय दुप्चेश्वर ५ का चरिमाया तामाङको अवस्था गम्भीर रहेको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । काठमाडौँबाट नुवाकोटको दुप्चेश्वरको समुन्द्रटार जान हिडेँको जीप बिहान अन्दाजी ९ः४५ बजे भीरबाट २ सय मिटर तल खसेको डिएसपी खड्काले बताए ।

घाइते मध्ये एक महिला र चार जना बालबालिकाको अवस्था सामान्य रहेको छ । दुर्घटना लगत्तै प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाएको थियो । चालकले गाडी रोकेर शौचालय जाँदा गाडी आफैँ गुडेर भीरबाट खसेको हो । गाडी छाडेर शौचालय गएका चालक सिन्धुपाल्चोक घर भएका हेमबहादुर तामाङ प्रहरी नियन्त्रणमा रहेका छन ।

चालकसँगै शौचालय निस्केका चार जना र गाडी भीरबाट खस्न जाँदै गर्दा पछाडीको ढोकाबाट हामफाल्न सफल भएका तीन जना भने पूर्ण सकुशल रहेका छन । दुर्घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

नुवाकोटको शिवपुरीमा यात्रुवाहक जीप भीरबाट खस्यो

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १४:३८