२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जुत्तासँग जुध्दै आचार्य बन्धु समाज, कानुनी उपचार खोज्ने निर्णय

२ मंसिर, काठमाडौँ । एक कम्पनीको जुत्ताका कारण आचार्यहरू तनावमा परेका छन । आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिको संयोजनमा काठमाडौंको मध्यबानेश्वरमा बसेको बैठकले आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका बिरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोमा कारबाहीका लागि निबेदन दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा एक पार्टी प्यालेसमा बसेको आजको बैठकले सामाजिक सञ्जालमा भाईरल हुनेगरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरुको मानमर्दन हुनेगरी पत्ता लगाई तत्काल जुत्तामा राखिएको आचार्यहरुको थर हटाउन भूमिका खेल्न र थरकै अपमान हुनेगरी राखिएको हुँदा कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग गर्ने निर्णय भएको छ ।

समाजका महासचिव शुभनराज आचार्य, कौडिन्य गोत्रीय महासमाजका बागमती प्रदेश अध्यक्ष एबम् आचार्य बन्धु समाज नेपालका पुर्व केन्द्रीय सदस्य प्रा डा गोबिन्द आचार्य, केन्द्रीय सदस्यहरु मनोज आचार्य, एकराज आचार्य, पुर्व केन्द्रीय सदस्य रामराजा आचार्य, अधिवक्ता मुक्ती आचार्यलगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रकृया अपनाउने भन्दै प्रहरीले नै उक्त कम्पनीको गलत कार्यको बिरुद्धका अगाडी बढ्न सक्ने हुँदा तत्कालका लागि प्रहरीमा निबेदन दिनु उपयुक्त हुने निर्णय गरेको महासचिव शुभनराज आचार्यले बताए ।

लब्ध प्रतिष्ठित आचार्यहरुबीचमा सर्बोच्च अदालतमा क्षतीपुर्तिमागदाब्ीसहित निबेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दिनुपर्नेलगायतका बिषयहरु उठेका थिए । आईतबार वा सोमबार कार्यालय समयमा प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोमा निबेदन दिने र उक्त निबेदन तयार गर्न अधिवक्ता मुक्ती आचार्यलाई जिम्मा दिने निर्णय आचार्य बन्धु समाज नेपालले गरेको छ । बैठकमा सहभागी आचार्यहरुले आक्रोशित हुँदै उक्त जुत्तामा आचार्य थरको अपमान हुनेगरी नाम राखिएकोमा कम्पनीको आलोचना गरेका थिए । छलफलकै क्रममा आचार्यको नाममा टिसर्टसमेत प्रिन्ट गरिएको भेटिएको छ । यसअघि बुद्धको बिषयमा यस्तै प्रकारको बिबाद भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार ११:४३