२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

वागेश्वरीमा सामूहिक गाई पूजा

२७ कात्तिक, भरतपुर । भरतपुरको वागेश्वरीमा तीन दिने सामूहिक गौः पूजा थालिएको छ । योगी नरहरिनाथ गौः संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौः पूजा सुरु गरिएको हो । लक्ष्मी पूजा तथा गोवद्र्ध्न पूजाको अवसरमा विगत वर्षमा जस्तै यसवर्ष पनि वागेश्वरीमा गौः पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए । पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधीष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौः आरती गरेर गौः पूजाको सुरुआत गरे ।

सो अवसरमा उनले एक दिन मात्र गाईको संरक्षण गरेर नहुने र सधैँ पूजा गर्नुपर्नेमा जोड दिए । सामूहिक गौः पूजा यही कात्तिक २८ गतेसम्म हुनेछ । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौः पूजा गर्न थालिएको हो । गाईको वैदिकरुपबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए । यहाँ सामूहिक गौः पूजासँगै गोवद्र्धन पर्वत बनाएर पूजा गरिन्छ । पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको वागेश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ ।

दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले बताए । यहाँ गाईको रेखदेखका लागि नौ कर्मचारी खटिएका छन् । योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई लिएर आए । उक्त सङ्ख्या बढेर अहिले दुई सय पुगेको छ । गौः पूजाको अवसरमा योगी नरहरिनाथ गौः संरक्षण केन्द्रका संस्थापक संरक्षक कृष्णहरि देवकोटा, पूवअध्यक्ष टङ्कनाथ पौडेल, निवर्तमान संयोजक रामु बस्ती, गौः संरक्षण अक्षय कोष अभियानका अध्यक्ष उमाशङ्कर अग्रवाललगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १७:०१