२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टिकटकमा प्रतिबन्ध लगाउने काम प्रतिगामीः पूर्व अध्यक्ष डा विष्ट

२७ कार्तिक, काठमाडाैँ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले सरकरले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेर प्रतिगामी कदम चालेको बताएका छन । सोमबार सरकारको निर्णय सार्वजनिक भएपछि सार्वजनिक रूपमा टिप्पणी गर्दै पूर्व अध्यक्ष विष्टले सरकारले यस्तो कदम तत्काल सच्याउनुपर्ने बताएका छन ।

उनले संसदमार्फत कानुन निर्माणको बाटो छोडेर कार्यकारीको आदेशमा सामाजिक सञ्जाल नियमन निर्देशिका जारी गर्नु र त्यसको परीक्षण हुन नपाउँदै टिकटकमा प्रतिबन्ध लगाउने अर्को निर्णय गर्नु गलत र अनुपयुक्त मात्र होइन, प्रतिगामी कार्य भएको बताएका छन ।

पूर्व अध्यक्ष डा विष्टले भनेका छन, ‘नयाँ प्रविधिले सिर्जना गरेको अवसरलाई उपयोग गर्ने हो, रोक्ने होइन । टिकटकका कतिपय विषयबस्तु बिकृतिजन्य र गलत छन् । यस मार्फत हुने अबैधानिक व्यापार नियन्त्रण गर्न जरुरी छ । त्यसलाई स्थापित सिद्धान्त, प्रचलित कानुन र मान्य विधिबाट नियमन गर्नु उपयुक्त र आवश्यक छ । तर, बन्द गर्ने निर्णय कुनै पनि अर्थमा सही होइन ।’

यस्तै उनले अघि भनेका छन, ‘यसले अभिब्यक्ति स्वतन्त्रतालाई संकुचित गर्छ । संसदमार्फत कानुन निर्माणको बाटो छोडेर कार्यकारीको आदेशमा सामाजिक सञ्जाल नियमन निर्देशिका जारी गर्नु र त्यसको परीक्षण हुन नपाउँदै टिकटकमा प्रतिबन्ध लगाउने अर्को निर्णय गर्नु गलत र अनुपयुक्त मात्र होइन, प्रतिगामी कार्य हो । यसले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदैन, सरकारको निरङ्कुश चरित्र उद्घाटित गर्दछ । यसलाई तत्काल सच्याइनु पर्दछ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १६:३५