२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

२७ कात्तिक, तुलसीपुर । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा रहेको पर्यटकीय गन्तव्य देवीकोट ओझेलमा परेको छ । त्यहाँ रहेको देवीकोट मन्दिर, त्यहाँबाट देखिने सेताम्मे हिमाल र तराईका फाँटले आकर्षण थपेको भए पनि त्यो स्थानको प्रचार प्रसारको अभावमा पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो स्थानका रुपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट आठ किलोमिटर मात्रै उकालो चढ्नुपर्छ । यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ ।

देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तव्यका रुपमा लिन सकिने राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बताए । स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ । तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ । ऐतिहासिक भए पनि त्यो मन्दिरको भौतिक संरचना भने पर्याप्त मात्रामा निर्माण गर्न सकिएको छैन । मन्दिरको पर्खाल भत्किएको छ । सोही ठाउँमा सतिदेवीको बाँया घुँडा पतन भएको किम्वदन्ती रहेको छ । तर, पनि त्यहाँ आवश्यक संरचना तयार नहुँदा भक्तजनको त्यति धेरै आकर्षण छैन ।

सोही ठाउँमा मन्दिरका अन्य संरचना निर्माण तथा मन्दिर निर्माणस्थलको जमिन जोगाउनतर्फ ध्यान दिनुपर्ने पालिका अध्यक्ष विष्टले बताए ।“मन्दिर निर्माणस्थलमा पनि पहिरो गएको छ, अन्य संरचना पनि निर्माण भएका छैनन्”, उनले भने, “यसमा सङ्घ र प्रदेश सरकारले चासो दिनुपर्छ ।” त्यहाँ विद्युत्को पोल र तार जडान गरिएको छ, तर, विद्युत् अझै बल्न सकेको अवस्था छैन । कच्ची सडक छ, तर, सहज यातायात छैन । खानेपानीको पनि समस्या छ ।

यी सबै समस्या समाधान भएमा प्रदेशको पर्यटनको एउटा गन्तव्य बन्न सक्ने अध्यक्ष विष्टको भनाइ छ । प्रदेश राजधानीदेखि नजिकै भएकाले जो कोही पनि सोही ठाउँमा गएर दर्शन गर्न सक्ने उनको भनाइ छ । त्यहाँबाट सिस्ने हिमाललगायत अन्य हिमशृङ्खला पनि देखिने, पहाडको अवलोकन गर्न पनि पाइने र भारतका केही भू–भाग पनि देख्न सकिन्छ । त्यहाँ स्थानीय ढिडो, रोटी, स्थानीय जातका कुखुरा, खसीलगायतका खानेकुरा पनि पाइन्छन् । यसले गर्दा घरवास (होमस्टे)को पनि राम्रो सम्भावना भएको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १२:५३