दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, कुनमा कति पर्यो आवेदन ?
२४ कात्तिक, काठमाडौं। दुई कम्पनीको आईपीओ भर्ने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन हो ।
यी दुवै कम्पनीले गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेका थिए। यी आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ कलाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरको थियो।
उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतममा १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
सीडीएससीका अनुसार हिजो बिहीबार साँझसम्म कम्पनीको आईपीओमा ३२ हजार ६१ आवेदकबाट ७ लाख ५४ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ५.३९ गुणाले बढी हो।
यसैगरी, नेपाल वेयरहाउजिङ कम्पनी जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
सीडीएससीका अनुसार बिहीबार साँझसम्म कम्पनीको आईपीओमा ३१ हजार ७५७ आवेदकबाट ७ लाख ७० हजार १४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ५.६० गुणाले बढी हो।
प्रकाशित मिति : 10:10









