धितोपत्र बोर्डले ८९ कम्पनीलाई सोध्यो स्पष्टिकरण
२२ कात्तिक, काठमाडाैं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समयमै वित्तीय विवरण पेस नगरेका ८९ कम्पनीलाई स्पष्टीकरण सोधेको छ। सोमबार बसेको धितोपत्र बोर्डकाे सञ्चालक समितिको बैठकले ती कम्पनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सेबोन स्राेतले जनाएकाे छ ।
समयमा नै बोर्डमा बुझाउनु पर्ने विवरण नबुझाउने कम्पनीलाई पत्राचार गरेको १५ दिनमा जवाफ नपठाएको खण्डमा बोर्डले धितोपत्र ऐन अनुसार जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ । यसअघि सेबोनले गत साउन ११ मा एक सूचना जारी गर्दै समयमै वित्तीय विवरण पेस गर्न सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको थियो। समयमै वित्तीय विवरण पेस नगर्नेलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०१ अनुसार कारबाही र जरिवाना गर्ने चेतावानी पनि दिएको थियो।
संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र सेबोनसमक्ष पेस गर्ने र त्यस्तो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ। हालसम्म वित्तीय विवरण पे; नगरेका कम्पनीलाई पहिलो चरणमा स्पष्टीकरण माग गरेको बोर्डका एक अधिकारीले बताए । उनले भने, ‘यसअघि नै समयमा वित्तीय विवरण पेस गर्न निर्देशन दिएका थियौ । तर अझै ८९ कम्पनीले पेस नगरेका कारण के कति कारणले पेश नगरेको भनि स्पष्टीकरण माग गरेको हो । चित्त बुझ्ने जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढाउछौं ।’
धितोपत्रसम्बन्धी ऐनको दफा १०१ मा समयमा वित्तीय विवरण पसे नगर्ने र ऐनअन्तर्गत बनेको नियम र विनियम कार्यन्वयन नगर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ।
प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १६:४४












