२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

भूकम्प पीडितलाई व्यक्ति वा संस्थाले सिधै राहत वितरण गर्न नपाउने, यस्ताे छ व्यवस्था

१९ कात्तिक, काठमाडाैं । जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई व्यक्ति वा संस्थाहरुले सिधै राहत रकम वा कुनै पनि सामाग्री वितरण गर्न नपाउने भएका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले व्यक्ति वा संस्थाहरुले सिधै राहत रकम वा कुनै पनि सामाग्री वितरण गर्न नपाउने निर्णय गरेको हो । एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्ने निर्णय गर्दै सरकारले राहत वितरणलाई व्यवस्थित गर्न यस्तो निर्णय गरेको हो ।

पीडितलाई कुनै पनि राहत सामाग्री उपलब्ध गराउनका लागि सुर्खेतलाई मुख्य केन्द्र र नेपालगन्जलाई सहायक केन्द्र बनाएर राहत संकलन गर्ने निर्णय सरकारले गरेको छ । त्यहाँ संकलित सामाग्रीहरू सरकारी संयन्त्रमार्फत् प्रदेश र स्थानीय सरकारले पीडितहरुलाई वितरण गर्नेछन् ।

सूचना एवं सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारले राहत वितरणलाई व्यवस्थित गर्न एकद्वार प्रणाली अपनाउने निर्णय गरेको जानकारी दिइन् । मन्त्री शर्माका अनुसार कसैले व्यक्तिगत वा संस्थागतरुपमा सिधै पीडितहरुलाई भेटेर राहत वितरण गर्दा त्यसको कुनै रेकर्ड नहुने, कसैले दोहोरिएर राहत पाउने र कसैले एकपटक पनि नपाउने भएकाले राहत वितरणलाई एकद्वार बनाउने निर्णय भएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १२:१४