३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने

१८ कात्तिक, वीरगन्ज (पर्सा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताए । नेकपा (एमाले)को मधेस प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई आज पर्साको वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवं राहत सामग्री वितरणमा आफ्नो ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरे ।

“घाइतेको खोजी र उद्धारका लागि हामी पनि सरकारलाई सहयोग गर्न तयार छौँ”, सामाजिक सङ्घसंस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न आग्रह गर्दै उनले भने । पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्दै अध्यक्ष ओलीले सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने बताए ।

मधेसको विकासका लागि पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै उनले मधेसको गरिबी हटाउने योजनामा काम गर्न स्थानीय तहका नेतालाई निर्देशन दिए । नेकपा (एमाले)का सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गरे ।

प्रकाशित मिति : November 4, 2023 at 6:07 pm