२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

ऐतिहासिक नगर पनौती : सम्पदामैत्री घर बनाउनेलाई प्रोत्साहन

१८ कात्तिक, काभ्रेपलाञ्चोक । ऐतिहासिक नगरपालिका पनौतीमा सम्पदामैत्री घर बनाउने अभियानलाई निरन्तरता दिइएको छ । विविध जटिलताका कारण गत वर्ष रोकिएको सम्पदामैत्री घर निर्माणको काम हालै मात्र पुनः थालिएको वडा नं ७ कार्यालयले जनाएको छ । वडा नं ७ स्थित पुरातात्विक क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्दै आइएको छ । पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीयले प्रक्रियाका लागि पहल गर्न नगरपालिकालाई सुझाव दिएसँगै देखिएका विभिन्न जटिलता समाधान भइ सम्पदामैत्री घर पुनः निर्माण थालिएको वडाध्यक्ष सविन ताम्राकारले बताए ।

उहाँका अनुसार सम्पदामैत्री घर निर्माण गर्न स्थानीयको पुर्जामा देखिएको क्षेत्रफलको विषय तथा पुरातत्व विभागको मापदण्डानुसार निर्माण गर्ने विषयमा देखिएको विवाद समाधान गरिएको हो । संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरातत्व विभागले दिएको मापदण्डानुसारको पुरानो शैलीमा निजी आवास बनाउन नगरले ७ नं वडाका केही स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग पनि गरेको थियो । विभागले ताकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिइएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।

उनका अनुसार पुरानो शैलीका विभागले तोकेअनुसारका घर बनाउँदा हाल महङ्गो पर्ने भएकाले पुरानो सहरको ऐतिहासिकता जोगाउन नगरले पनि सहयोग गर्न थालेको हो । ऐतिहासिक एवं पुरातात्विक तथा संरक्षित स्मारक क्षेत्र पनौती संयुक्त राष्ट्र सङ्घीय अङ्ग शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । युनेस्कोको मापदण्डको पूर्ण पालना गर्न स्थानीय घरलाई सम्पदामैत्री गरी पुनःनिर्माण तथा मर्मतलाई नगरपालिकाले प्रोत्साहन रकम दिन थालेको थियो । “पुराना शैलीका घर पुनःनिर्माण वा मर्मत गर्न चाहने स्थानीयलाई दिने गरिएको प्रोत्साहन रकम पुनः दिन थालिएको छ, अब रोकिएका घरको पुनःनिर्माणलाई निरन्तरता दिनेछौँ”, वडाध्यक्ष ताम्राकारले भने ।

उनका अनुसार हालसम्म ८२ स्थानीयले विभागको मापदण्डमा सम्पदामैत्री घर निर्माणार्थ नगरसँग प्रोत्साहन रकम माग गरेका छन् । हालसम्म ११ घरलाई रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पूरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेको जनाइएको छ । साथै पुरानै शैलीमा घर बनाउन चाहनेले झिङ्गटी, बलिया किसिमका काठ उपलब्ध गराउन तथा मर्मतसम्भारका लागि आर्थिक सहयोग उपलब्ध गराउन नगरसँग माग गर्दै आएको नगरपालिकाले जनाएको छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

विश्वभर रहेका प्राचीन सम्पदाको पहिचान गरी त्यसलाई युनेस्कोले निर्धारण गरेको मापदण्ड पूरा भएपछि विश्व सम्पदाको सूचीमा राख्ने गर्दछ । यसैको सूचीमा सूचीकृत हुन पनौती लामो समयदेखि प्रक्रियामा रहेको हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीको विश्वसम्पदा सूचीमा राख्न २६ वर्षदेखि प्रक्रिया थालिएको थियो । यस्तै पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य तीन वर्षअघि बढाइएपछि युनेस्कोका नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई मात्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएका थिए ।

पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । नेपाल सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको जनाइएको छ । पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ ।

त्यो विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा गर्ने नीति छ । नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । त्यसमा काठमाडौँ उपत्यका (उपत्यकाका सात क्षेत्र ः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १५:१०