२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पर्यटकीय गन्तव्य सूचीकरण र क्युआर नक्साङ्कन गरिने

१८ कात्तिक, बलेवा (बागलुङ) । बागलुङ नगरपालिकाले पर्यटकीय गन्तव्यहरुको चिनारी, प्रचारप्रसार र प्रवद्र्धनका लागि श्रव्यदृश्य तथा पुस्तक आकारका प्रचार सामग्री बनाउने भएको छ । नगर पर्यटन विकास समितिको बैठकले पर्यटकीय सम्पदाहरुको ‘क्युआर हेरिटेज म्यापिङ तथा स्टोरी’ बनाउने भएको समितिका अध्यक्ष तथा नगर उपप्रमुख राजु खड्काले बताए । पर्यटकीय सम्पदाको सूचीकरण गरेर ब्रोसर बनाउने, ती स्थानको चिनारीका लागि पुस्तक प्रकाशन गर्ने, पर्यटनसम्बन्धी लेखरचना लेख्नेलाई प्रोत्साहन दिने नीति बनाइएको उनले बताए ।

“पर्यटन क्षेत्रको विकास गर्न सकेमा बागलुङको आर्थिक अवस्था पनि सुधार हुनेछ”, उनले भने, “समितिले पनि जसरी हुन्छ अब बागलुङको पर्यटन अवस्थामा सुधार ल्याउने हो ।” पहिलोपटक नगर क्षेत्रको विकास गर्दै क्रमशः जिल्लाकै पर्यटकीय पहिचान बनाउने लक्ष्य रहेको उनले सुनाए । समितिले पर्यटन पत्रकारिता तालिम सञ्चालन गर्न लागेको छ । त्यसका लागि कक्षा १२ पास गरेका विद्यार्थीदेखि क्रियाशील पत्रकारलाई पनि विधागत रुपमा विज्ञ बनाउने योजना बनाइएको हो ।

विशेषगरी बागलुङ आएका पर्यटकले मुख्य सम्पदाबारे विद्युतीय रुपमा अध्ययन गर्न पाउने व्यवस्थाका लागि क्युआर हेरिटेज म्यापिङ गर्न लागिएको हो । त्यसका लागि आह्वान गरिएको प्रस्तावका लागि तीन संस्थाले प्रस्ताव पत्र पेस गरिसकेका छन् । पछिल्लो समय बढिरहेको टिकटकलाई समेत प्राथमिकता दिएर बागलुङका पर्यटकीय क्षेत्रलाई प्रचार गर्न बनाइने टिकटकसमेत प्रोत्साहनको दायरामा पर्नेछ । सदरमुकाम बागलुङ बजारदेखि विभिन्न पर्यटकीयस्थल, जिल्लाका गन्तव्य, मध्यपहाडी लोकमार्गका अन्य जिल्लाका सदरमुकाम, हिमाली पदयात्रा, मुक्तिनाथ, ढोरपाटन र धौलागिरि तथा अन्नपूर्ण बेसक्याम्प लगायतका स्थानमा जाने मार्गबारे समेत जानकारी दिने गरी नक्साङ्कन गरिनेछ ।

चालु आर्थिक वर्षका लागि ४० लाख बजेट विनियोजन गरिएको पर्यटन शीर्षकबाट पर्यटन प्रहरी राख्ने, पर्यटन सूचना केन्द्र बनाएर बागलुङ आएका पर्यटकको लगत राखेर उनीहरुले जाने क्षेत्र, बस्न चाहेको होटल तथा अन्य सेवासुविधाबारे जानकारी दिने र आगामी दिनमा उनीहरुले थप पर्यटक ल्याउने योजना बनाउन प्रोत्साहन गरिनेछ । पहिलो चरणमा नगरपालिकाले कम्तीमा १० गन्तव्य छनोट गरेर तिनीहरुको नक्साङ्कन गर्नेछ ।

बागलुङ कालिका, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, भकुण्डे, भैरवस्थान लगायतका स्थललाई प्रचार गर्ने, बागलुङका होटलहरुमा पाहुना सत्कार गर्ने पद्धति बसाल्ने, यातायात व्यवसायीले पनि घुम्न आएका पाहुनालाई स्वागत गर्दै सही गन्तव्यमा लैजान सहयोग गर्ने, सञ्चारमाध्यमले प्रचारात्मक र प्रवद्र्धनात्मक क्रियाकलाप गर्न नगरपालिकाले आग्रह गरेको छ । समितिले गन्तव्य तोक्दा न्यूनतम कति पर्यटक जाने स्थानलाई पहिलो प्राथमिकतामा राख्ने, कस्तो प्रकारको ब्रोसर र नक्साङ्कन गर्नेजस्ता विषय छनोट र प्रतिवेदन तयार गर्न प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी नेतृत्वमा चुस्त उपसमिति गठन गर्नेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १३:२८