२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

हवाई र स्थलमार्गमार्फत उद्धारमा जुट्दै प्रदेश सरकार

१८ कात्तिक, सुर्खेत । गएराति आएको भूकम्पबाट घाइतेहरुको उद्धारका लागि कर्णाली प्रदेश सरकार जुटिरहेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार हवाई र स्थलमार्गमार्फत उद्धार कार्य हुन लागेको हो । “जाजरकोट र रुकुम पश्चिममा रहेका प्रादेशिक संरचनाहरुमार्फत उद्धार कार्य भइरहेको छ,” उनले भने, “भिजिबिलिटी खुल्ने बित्तिकै उडान हुने गरी चिकित्सक टोली त्यसतर्फ जान तयारी अवस्थामा छ ।

मुख्यमन्त्री सहितको टोली स्थलमार्गमार्फत जाने तयारी छ ।” मन्त्री जिसीका अनुसार सुर्खेत, नेपालगञ्ज र दाङबाट राहत तथा उद्धारका सामग्री पठाउने काम भइरहेको छ । साथै, प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक भर्खरै सम्पन्न भएको छ भने प्रदेश मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्न लागेको मन्त्री जिसीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले क्षेत्रगत जिम्मेवारी बाँडफाँड गरी राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय गर्नेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १२:१७