नेपाल बैंकको नाफामा भारी संकुचन, चुक्तापुँजी १४ अर्ब ६९ करोड
१७ कात्तिक, काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफामा भारी संकुचन देखिएको छ।
समीक्षा अवधिमा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७६.४३ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिमा बैंकले ६० करोड ४० लाख खुद नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ७५ रुपैयाँ रहेको छ। यो अवधिमा बैंकको सञ्चालन मुनाफा ८६.९३ प्रतिशतले घटेर १० करोड ३९ लाख पुगेको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ७९ करोड ४० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.२८ प्रतिशतले बढेर २ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो।
पहिलो त्रैमासमा बैंकले २ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २.५६ प्रतिशतले बढेर २१ अर्ब ४४ करोड पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३ रुपैयाँ ८८ पैसामा झरेको छ। अघिल्लो वर्ष बैंकको ईपीएस १६ रुपैयाँ ७७ पैसा रहेको थियो। पीई रेसयो ६३.९९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ४६ पैसा रहेको छ।
प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ११:५३