२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती

कात्तिक १५ , काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् । आज यहाँ नेपाल पर्वातारोहण सङ्घको ५०औँ वार्षिकोत्सव समारोहमा उहाँले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताए । “हाम्रा ऐनहरु पुराना छन् । ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ”, मन्त्री किरातीले भन्नुभयो, “आजै जोगमुनिबाट फोन आएको थियो । विदेशी पर्यटकले एउटा पाँच तारे होटलमा रू २५ हजारको कोठा बुक गर्नुपर्ने हुन्छ ।

तर २५ हजार भारु भन्दा बढी रकम बोक्न नपाइने प्रावधान भएकाले सो स्थितिप्रति उहाँहरुले गुनासो गरे ।” विदेशी पर्यटकलाई जहाजको भाडा दोब्बर गर्दा विश्वमा नकरात्मक सन्देश गएको उनको भनाइ थियो । मन्त्री किरातीले ‘फेक रेस्क्यु’ले नकरात्मक सन्देश दिने भन्दै सरकारी, गैरसरकारी र निजी क्षेत्र यस्ता विषयप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको असरप्रति ध्यानाआर्कषण गराउँदै कतिपय स्थानमा पर्यटकका लागि निषेधित क्षेत्र भएकाले पर्यटनमा असहजता भएको बताए । “एडभेन्चर, नेचर र कल्चर नेपाली पर्यटनको मौलिकता हुन् ।

यसलाई विश्व समुदायमा नयाँ ढङ्गले बजारीकरण (रिब्राण्डीङ) गर्न सके पर्यटनबाट समृद्धि सम्भव छ”, मन्त्री किरातीले भने । उनले सङ्घले हिमाल तथा हिमाली पर्यटन प्रवद्र्धन क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । सङघको ५०औँ स्वर्ण महत्वसका अवसरमा सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले सुरक्षित पर्वातारोहण, तत्काल उद्धार र हिमालमा फोहर व्यवस्थापनका लागि सबैको सहकार्यका लागि आह्वान गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १७:३४