२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

डब्लूएचओको क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित, शम्भुले पाए दुई मत

१५ कार्तिक, काठमाडाैँ । नेपाली उम्मेदवार शम्भु आचार्यलाई पराजित गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को निर्देशकमा साइमा वाजेद निर्वाचित भएकी छिन । बांगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा भारी मतले विश्व डब्लूएचओको दक्षिण–पूर्वी एशिया (सेरो) को क्षेत्रीय निर्देशकमा निर्वाचित भएकी हुन ।

केहीवेर अघि सम्पन्न मतदानमा बंगलादेशका तर्फबाट उम्मेदवार बनेकी उनले नेपाली उम्मेदवार आचार्यलाई भारी मतले पराजित गरिन । कुल १० भोटमा वाजेदले ८ भोट प्राप्त गरिन् भने आचार्यले भने २ मत प्राप्त गरे । साइमाले २०२४ फेब्रुअरी १ देखि देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछिन ।

डब्लूएचओको दक्षिण–पूर्वी एशियाको क्षेत्रीय कार्यालयले ११ सदस्य राष्ट्रमा स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग र सहकार्य गर्ने काम गर्छ । यसको सदस्यमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर–लिस्टे छन् । म्यान्मारले मत दिन नपाएका कारण १० मत खसेको हो । अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट जनस्वास्थ्य, स्वास्थ्य नीति र वित्तीयमा पीएचडी गरेका आचार्यसँग जनस्वास्थ्यको क्षेत्रमा ३० वर्षको अनुभव रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १३:४०