नौ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?
१५ कात्तिक, काठमाडौं । हालसम्म संचालनमा रहेका बैंकमध्ये नौ बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सात वाणिज्य बैंक र दुई विकास बैंकसहित नौ बैंकले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् । यीमध्ये माछापुच्छे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र सिटिजन बैंकले साधारणसभा समेत सम्पन्न गरि लाभांश पारित समेत गरिसकेका छन् ।
त्यस्तै, दुई विकास बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् । यी बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई क्रमश ५.२६३ प्रतिशत र ११.०५ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।
हालसम्म लाभांश घाेषणा गरेका वाणिज्य बैंकहरूमध्ये पनि एनआईसी एशिया बैंकले सबैभन्दा बढी लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने भएको हाे ।
त्यस्तै, सोमबार मात्रै लाभांश घोषणा गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने भएकाे छ, एभेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।
सानिमा बैंकले ९ प्रतिशत बोनससहित कुल १४.७ प्रतिशत लाभांश दिने भएकाे छ, माछापुच्छे बैंकले १३.३ प्रतिशत बोनससहित कुल १४ प्रतिशत, सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यी बाहेकका अझै १२ वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घाेषणा गर्न बाँकी रहेकाे छ । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, एसबिआई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । त्यस्तै, विकास बैंकमध्ये १४ बैंकले पनि लाभांश घोषणा गरेका छैनन् ।
प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १०:५९