२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

दसैँमा सहकारीले बिक्री गर्यो ६९ लाख ६० हजारको खसीबोका

१२ कात्तिक, झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए ।

किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ । उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडौँसम्म लगेर बिक्री गरिएको थियो ।

संस्थाको कृषि क्षेत्रका प्रमुख डा कमलेश्वर भाटले यसपालिको दसैँमा औसत ३० केजीका चार सयवटा खसीबोका बिक्री भएको जानकारी दिए । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रतिकेजी रु पाँच सय ८० मा बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।

“हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरिदिन्छौँ”, उनले भनेयो, “किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्षरूपमा सघाउँछौँ । उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ ।”

संस्थाले छ जिल्लामा चार सयको सङ्ख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाइदिएको उनले बताए। बाख्रापालक किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको समस्या नभएको उनको भनाइ छ ।

बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित १० कर्मचारी परिचालन गर्दै आएको छ । एक लाख ५७ हजार नौ सय २० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार एक सय ३० ऋणी छन् । संस्थाबाट कृषि कर्जा लिनेको सङ्ख्यासमेत उल्लेख्य छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १२:११