२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म किन्न पाइन्छ ?

१२ कात्तिक, काठमाडाैं ।  कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएकाे छ ।  बैंकले गत कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा आज कात्तिक १२ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो ऋणपत्रमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : October 29, 2023 at 10:15 am