३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सराय नाच संरक्षणमा चुनौती

११ कात्तिक, ढोरपाटन (बागलुङ) । एक दशक अगाडिसम्म बागलुङका धेरै जसो गाउँहरुमा सराय नाच नाच्ने प्रचलन भए पनि पछिल्लो समय एक÷दुई गाउँमा मात्र देख्न पाइन्छ । मौलिक संस्कृति बोकेको सराय नाच हराउँदै जान थालेपछि बुढापाकाले चिन्ता गर्न थालेका छन् । नयाँ पुस्ताले यो नाच नाच्नेतर्फ चासो नदिँदा हराउँदै गएको हो । विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सराय नाच अहिले दसैँका दिनमा मात्रै सीमित छ । पहिले यो नाच दसैँको समयमा आफन्तजन तथा गाउँले जम्मा भएर तरबार नचाएर एकापसमा खुसी साटासाट गरी नाचिने गरेको स्थानीय वीरबहादुर चन्दले बताए ।

गाउँका मठमन्दिरमा राखिएको दरबार तथा खुँडा, घरमा राखिएको जमराको माला र एउटै किसिमका कपडा पहिरिएर ठूलो समूहमा यो नाच नाच्ने गरिएको चन्दको भनाइ छ । युवा पुस्ताले चासो नदिँदा अहिले थोरैले मात्र नाच्ने गरेको उनले बताए । परापूर्वकालदेखि नाच्न थालिएको सराय नाचले वर्षौंदेखि टाढिएका आफन्तजन, इष्टमित्र र गाउँलेलाई जमघट गराउने चन्द बताए । आधुनिक प्रविधिको विकासले मौलिक संस्कृति हराउँदै गएको उनको गुनासो छ ।

“यो नाच कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन, तर हाम्रो जिजु, बाजे र बाउले नाच्दै आए, हामीहरुले पनि त्यही सिको गरेर नाच्यौँ, अहिलेका हाम्रो छोरा भतिजले नाच्न छाडे, यो त राम्रो सम्पत्ति हो, तर नयाँ पुस्ताले संरक्षण गर्न सकेनन्”, उनले भने, “अहिले हामी बुढाहरुले मात्रै नाच्दै आएका छौँ, हरेक वर्ष नाच्नेको सङ्ख्या घट्दै गएको छ, पुराना बित्दै गए, नयाँले नाचेनन्, अबको १०÷१५ वर्षमा गाउँमा सराय नाच्ने कोही हुँदैनन् होला ।” केही वर्ष अगाडिसम्म सराय नाच हेर्नेको भीड हुने गरेको भन्दै अहिले धेरै जसो मोबाइलमै झुण्डिराख्ने स्थानीय पदमबहादुर घर्ती बताउ छन् ।

बूढापाका पुस्ता नसक्ने हुँदै गएपछि पुराना परम्परा, कला र संस्कृति पनि मेटिँदै जाने हुँदा सराय नाचको लोप हुने खतरा बढेको उनले बताए । पहिले गाउँका प्रत्येक घरबाट एक जना भाला र तरबार लिएर नाच्न आउने गरेको स्मरण गर्दै अहिले नाच्ने युवा जति विदेश पलायन भएको घर्तीको भनाइ छ । मौलिक कला संस्कृतिको संरक्षणमा सरोकारवाला निकायले पनि ध्यान दिनुपर्ने उनले बताए ।

घर्ती भन्छन्, “हामीहरु बुढा भयौँ, नयाँ सिक्ने युवा विदेश गए, गाउँनै रित्तिन थालेको छ, अब कसरी पुराना संस्कृति संरक्षण गर्ने ?, यहाँ भएकाहरुले पनि चासो नै दिँदैनन्, यो परम्परालाई जोगाउने हो भने नयाँ पुस्ता तयार हुनुपर्छ, ध्यान दिनुपर्छ, नत्र भने केहीपछि सराय नाच देख्न पनि पाइने छैन, यो त पुस्तौँदेखि पुस्ता हस्तान्तरण हुँदै आजसम्म आएको हो ।”

प्रकाशित मिति : October 28, 2023 at 2:32 pm