भारतमा दैनिक प्याजको मूल्य बढ्दै, नेपालमा कस्तो पर्ला प्रभाव ?
१० कात्तिक, काठमाडौं । भारतमा प्याजको मूल्यमा उच्च वृद्धि भएको छ । भारतीय तरकारी बजारमा गएको १५ दिनमा प्याजको मूल्य ६० प्रतिशतले बढेको छ। भने एक सातामा मात्रै प्याजको मूल्यमा १८ प्रतिशतसम्म वृद्धि भएको देखिएको छ ।
अहिले भारतीय बजारमा प्याजको मूल्य प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्म पुगेको छ। भारतीय बजारमा भएको प्याजको मूल्य वृद्धिको असर अहिले नेपाली भान्सामा पर्न थालेको छ। भारतीय बजारमा अझै केही समय प्याजको मूल्यमा वृद्धि हुन सक्ने अनुमान भारतीय सञ्चार माध्यमले गरेका छन्। जसको असर नेपाली भान्सामा समेत पर्ने देखिएको छ ।
नेपालमा करिब ९० प्रतिशत बढी प्याज भारतबाट नै आयात हुने गरेको छ । प्याजका लागि नेपाल भारतमाथि नै निर्भर रहेकाले भारतमा भएको प्याजको मूल्य वृद्धिको असर नेपालमा पनि पर्ने देखिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत असोजमा भारतीय प्याजको औसत मूल्य ७१ रुपैयाँ २० पैसा रहेको थियो भने अहिले कात्तिकमा भारतीय प्याजको औसत मूल्य प्रति किलो १०२ रुपैयाँ ५० पैसा पुगेको छ। कालीमाटी तरकारी बजारमा आज प्याजको न्यूनतम मूल्य नै एक सय रुपैयाँ र अधिकतम मूल्य १०५ रुपैयाँ तय भएको छ। भारतीय बजारमा जति प्याजको मूल्य बढ्दै गइरहेको छ नेपाली बजारमा पनि त्यति नै मूल्य बढ्दै गइरहेको छ।
प्रकाशित मिति : October 27, 2023 at 4:57 pm










