४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एनआरएनए विवाद मिल्यो, निर्वाचितले लिए पद तथा गोपनियताको सपथ (सूचीसहित)


४ कार्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ विश्व सम्मेलनबाट निर्वाचित भएकाहरूले पद तथा गोपनियताको सपथ लिएका छन । काठमाडाैँको होटल सोल्टीमा शनिबार भएको कार्यक्रममा सम्मेलनबाट निर्वाचित भएकाहरूले पद तथा गोपनियताको सपथ लिएका हुन ।

मतदानको माध्यमबाट अध्यक्षमा डा बद्री केसी विजयी भएका छन । अध्यक्षमा विजयी डा केसीले १३७८ मत प्राप्त गरेको सम्मेलनका मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता यादवप्रसाद ढुंगानाले जानकारी दिए । अध्यक्षका अन्य प्रत्यासी आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरे । विजयी भएका केसी एमाले निकटका हुन भने शर्मा माओवादी निकट र श्रेष्ठ नेपाली कांग्रेस निकटका हुन । निर्वाचन अधिकृतको कार्यालयले नामको स्पेलिङमा समस्या हुँदा उपाध्यक्षका एक जना उम्मेदवारको नेपालको भोट जोडिन नसकेको भन्दै उक्त मत जोडेर अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

उपाध्यक्षमा डा हेमराज शर्मा, रोविन शेरचन, राजु रेग्मी, डा केशव पाैडेल, डा विनोद श्रेष्ठ, रामशरण सिंखडा विजयी भएका छन । विजयी भएका उपाध्यक्ष शर्माले २२६५, शेचनले २१८०, रेग्मीले १९००, पाैडेलले १६००, श्रेष्ठले १५६०, सिंखडाले १५५२ मत प्राप्त गरेका छन । महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी भएकी छिन । उनले १९४७ मत प्राप्त गरेकी छिन । उनको प्रतिस्पर्धी यासमीन बेगम सैयदले १९१४ मत प्राप्त गरिन । यस्तै युवा उपाध्यक्षमा रोशन थापा २४६८ मतसहित विजयी भएका छन । उनका प्रतिद्धन्द्भी अब्दुलले १३२२ मत प्राप्त गरेका छन ।

यसैगरी महासचिवमा नेपाली कांग्रेस निकटका गौरीराज जोशी विजयी भएका छन । उनले २०३७ मत प्राप्त गरेका छन भने पराजित हुने नेपाली कांग्रेसक निकटकै बुद्धिसागर सुवेदीले १८१८ मत प्राप्त गरेक छन । विजयी जाेशी कांग्रेसकाे शेखर काेइराला निकटका हुन् भने पराजित सुवेदी सभापति शेरबहादुर देउवा निकटका हुन् ।

उपमहासचिवमा प्रविन गुरूङ २१५० र सोमनाथ सापकोटा १७९० मतसहित विजयी भएका छन । सचिवमा भिम केसी कमल १६७३, डा ज्ञानेन्द्र रेग्मी १७८२, मनोजकुमार श्रेष्ठ २०२४, डा नवराज रोस्यारा १८५३, प्रकाशमणि पोखरेल, १६५१ र स्वराजप्रताप शाह १६६६ मतसहित विजयी भएका छन । यस्तै महिला सचिवमा राधिका गुरूङ २३२० मतसहित विजयी भएकी छिन । कोषाध्यक्षमा सुदनकुमार थापा विजयी भएका छन । उनले १९१७ मत प्राप्त गरेका छन भने पराजित हुने ठाकुरप्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरेका छन ।

विजयी र पराजित सबैको सम्पूर्ण मतविवरण तल हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार १४:१५