तीन वाणिज्य बैंकले जम्मा गरे खातामा पैसा, दशैँअघि दक्षिणा पाउँदा सेयरधनी मख्ख
३ कात्तिक, काठमाडौं । ती वाणिज्य बैंकले सेयरधनीको खातामा नगद लाभांश जम्मा गरेका छन् । सिटिजन्स बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले सेयरधनीको खातामा नगद लाभांश पठाएका हुन् । दशैंअघि लाभांश दिनेमा पहिलो सिटिजन्स बैंक, दोस्रोमा एभरेष्ट बैंक रहेको छ भने तेस्रोमा सानिमा बैंक रहेको छ ।
सिटिजन्स बैंकले गत असोज २६ गते साधारणसभा गरी सेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सिटिजन्स बैंकले मंगलबारबाट सेयरधनीको खातामा पठाएको हो ।
यसैगरी, एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश रकम बैंकले बुधबार सेयरधनीको खातामा पठाएको हो ।
सानिमा बैंकले कात्तिक २ गते अर्थात हिजो बिहीबार साधारणसभा गरि सेयरधनीको खातामा लाभांश पठाएको हो । सानिमा बैंकले ९ प्रतिशत बोनस र करसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभाशं वितरण गरेको छ ।
यी तीन बाहेक अन्य केही बैंकले साधारणसभाबाट लाभांश प्रस्ताव पारित गराइसकेका भए पनि सेयरधनीको खातामा भने लाभांश पठाएका छैनन् । दशैंको मुखमानै बैंकहरूले खातामा पैसा जम्मा गरेपछि दशैँ अघि नै दक्षिणा पाएको भन्दै लगानीकर्ताहरू मख्ख परेका छन् ।
प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १४:४८