१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सानिमा बैंकले ल्यायो चाडपर्वमा विशेष छुट तथा क्यासब्याक योजना

३ कात्तिक, काठमाडाैं । सानिमा बैंकले ग्राहकका लागि ‘Made in Nepal’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत कम्पनीले आफ्नो डिजिटल प्रणालीमार्फत् भुक्तानी गरेमा विशेष छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ ।

उक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारिक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको कम्पनीले बताएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रबर्द्धन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने छ ।

उक्त योजना असोज २७ गतेदेखि आगामी मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत् भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशतसम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यासब्याकको लाभ लिन सक्नेछन् ।

कम्पनीको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् । यसैगरी, सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरुमा विभिन्न छुटहरु प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १२:४७