२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पत्रकार महासंघमा प्रेस चाैतारीको ताला, अध्यक्षको बोर्ड रूखमा झुण्डाइयो

२७ असोज, काठमाडाैँ । नेपाल पत्रकार महासंघले शुद्धिकरणका नाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा निकट पत्रकारहरूको सदस्यता कायम गर्दै नेकपा एमाले निकटका पत्रकारहरूको सदस्यता समाप्त पारेपछि प्रेस चाैतारी नेपालले महासंघका सबै प्रदेश कार्यालयमा ताला लगाउने निर्णय गरेको छ ।

शनिबार चाैतारीको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै ‘शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक’ गरिएको भनी दाबी गरिएको नेपाल पत्रकार महासंघका सदस्यहरुको सूची देखेर प्रेस चौतारी नेपाल आश्चर्यचकित भएको बताएका छन ।

उनले व्यावसायिक तथा क्रियाशिल श्रमजीवी पत्रकारहरुलाई पत्रकार महासंघको सदस्यताबाट बञ्चित गरेर जारी गरिएको यो सूचीप्रति प्रेस चौतारीले आपत्ति प्रकट गरेको उल्लेख गरेका छन । चाैतारीको विज्ञप्तिमा भनिएको छ, ‘महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको संगठन नभई कुनै अमूक राजनीतिक दल र समूहको भातृ संगठनको रुपमा बदल्ने प्रयास गरिनु बिडम्बनापूर्ण छ । यो अग्रजहरुको कष्टसाध्य संघर्ष, योगदान र बलिदानबाट स्थापित आम नागरिकहरुको पनि भरोषायोग्य संगठनको गरिमा र सामाजिक स्वीकारोक्तिलाई कमजोर बनाउने प्रयास हो ।’

चाैतारीले शुद्धिकरणका नाममा छानीछानी एमाले निकटका पत्रकारको नाम हटाएर सार्वजनिक गरिएको सूची तत्काल सच्याउन माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धीकरण गर्दै नेपाल पत्रकार महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा र गौरवमय संगठनको रुपमा विकास गर्न प्रेस चौतारी दृढ रहेको पुनः स्मरण गराउन चाहन्छौं । तर, नेपाल पत्रकार महासंघले निर्धारण गरेका १५ बूँदे मापदण्ड, नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न (८—९ पुस २०७९) साधारणसभाबाट गरिएको सर्वसम्मत निर्णय, श्रमजीवी पत्रकारहरुको संगठनबीच भएका सहमति र भावना विपरित छ । तसर्थ, महासंघद्वारा सार्वजनिक सूचना र सूचीलाई तत्काल सच्याउन प्रेस चौतारी नेपाल आग्रह गर्दछ ।’

चाैतारीले भनेको छ, ‘महासंघद्वारा जारी विज्ञप्तिमा सार्वजनिक नाम उपर मात्रै दाबीविरोध, सफाइको मौका र न्यायका लागि आह्वान गर्ने समय निर्धारण गरिएको छ । व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुलाई सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित गरेर सार्वजनिक गरिएको सूचीमा मात्रै दाबी बिरोधको सूचना जारी गर्नुको कुनै औचित्य छैन । तसर्थ, सार्वजनिक सूचीमा समावेश गरिएका गैर—पत्रकारहरुलाई शुद्धिकरण मापदण्ड अनुसार हटाएर सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित क्रियाशिल पत्रकारहरुलाई सूचीमा समावेश गर्न प्रेस चौतारी माग गर्दछ । अन्यथा, प्रेस चौतारी पत्रकार महासंघको गरिमा रक्षा, गौरवममय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरुको हितरक्षाको निम्ति जस्तोसुकै कदम चाल्न बाध्य हुने जानकारी गराइन्छ । यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व हुनेछ ।’

बागमती अध्यक्षको बोर्ड रूखमा झुण्डाइयो 

चाैतारीको बागमती प्रदेश कमिटीले शनिबार महासंघ बागमती प्रदेश कार्यालयमा ताला लगाएको छ । चाैतारी बागमतीका उपाध्यक्ष राधेश्याम खतिवडा नेतृत्वको टोलीले कार्यालयमा तालाबन्दी गरेको हो । यस्तै महासंघका अध्यक्ष शिव देवकोटा लेखिएको बोर्ड रूखमा झुण्डाएको छ । अध्यक्षको बोर्ड अम्बाको बोटमा लागेर झुण्डाएको हो । बोर्ड कसले झुण्डाएको भन्ने केही खुलेको छैन ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १७:२०