३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

देशको समृद्धिका लागि सबैदल एकजुट हुनुपर्ने

२७ असोज, दमौली (तनहुँ) । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बतए । नेपाली काङ्ग्रेस व्यास नगर समितिले बडादसैँका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अहिलेको मुख्य कार्यभार देशको विकास र समृद्धि भएकाले यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । नेता भण्डारीले अन्य कुरामा राजनीतिक दलबीच मतभेद भए पनि विकास र समृद्धिका पक्षमा सबैको साझा एजेण्डा हुनुपर्ने बताए ।

उनले भने, “सबै दलबीच एकता अहिलेको आवश्यकता हो । अहिलेसम्म जेजे भयो यसको जिम्मा सबै दलले लिनुपर्छ र एक भएर नागरिकका पक्षमा काम गर्नुपर्छ ।” नेता भण्डारीले देशमा धर्म र संस्कृतिमाथि प्रहार हुन थालेकाले सचेत हुनुपर्नेमा जोड दिए । धर्म संस्कृति मासिए देश खतरामा पर्ने बताउँदै धर्म र संस्कृतिको रक्षाका लागि सबै नेपालीबीच एकताको खाँचो रहेको उनको भनाइ थियो । कार्यक्रममा नेकपा (एमाले) व्यास नगर कमिटीका अध्यक्ष तुल्सीराम पाण्डे, नेकपा (माओवादी) केन्द्रका संयोजक रामचन्द्र सापकोटा, नेकपा (एकीकृत समाजवादी) का संयोजक मङ्गलप्रसाद श्रेष्ठले विकास निर्माणमा सबै दलबीच एकता आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : October 14, 2023 at 3:47 pm