२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

अक्सिजन प्लान्ट हस्तान्तरण

२७ असोज, चितवन । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । एनआरएनएले अस्पताललाई स्वामित्व हस्तान्तरणसहित प्लान्टको उद्घाटन गरेको छ । एनआरएनएका महासचिव डा केशव पौडेलले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेललाई अक्सिजन प्लान्टको स्वामित्व हस्तान्तरण गरे । प्लान्ट छ महिनाअघिदेखि सञ्चालनमा आएको भए पनि हस्तान्तरण भने अहिले गरिएको हो ।

अस्पतालमा निर्माण गरिएको प्लान्टको लागत रू ९४ लाख रहेको भरतपुर अस्पतालका प्रवक्त डा गोविन्द कँडेलले जानकारी दिए । अक्सिजनमा परनिर्भर अस्पताल प्लान्ट सञ्चालनमा आएसँगै आत्मनिर्भर बनेको मेडिकल सुपरिडेन्डेन्ट प्रा डा पौडेलले जानकारी दिए । कोरोनाले अक्सिजनको महत्व सिकाएको बताउँदै उनले हाल अस्पतालमा दैनिक दुई सय ५० सिलिन्डर उत्पादन गर्ने क्षमताका प्लान्ट स्थपना गरिएको जानकारी दिए । कोभिडको समयमा अक्सिजनको अभावलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि बिरामीको चाप रहेको भरतपुर अस्पतालमा प्लान्ट स्थापना गरिएको एनआरएनएका महासचिव पौडेलले बताए ।

एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुरुप बागमती प्रदेशमा केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पताललाई छनोट गरेको उनको भनाइ थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले गैरआवासीय नेपाली सङ्घले अस्पतालप्रति देखाएको चिन्ता र सद्भावका लागि आभार व्यक्त गरे। “अस्पतालमा हाल दैनिक प्लान्टबाट एक सय ७५ सिलिन्डर अक्सिजन उत्पादन भइराखेको छ”, उनले भने, “यसअघि ५० देखि ७० सिलिन्डर बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहे पनि प्लान्ट सञ्चालनमा आएसँगै परनिर्भरता अन्त्य भएको छ ।”

अक्सिजन आफैँ उत्पादन गर्न थालेपछि दैनिक रू ६१ हजार बचत भएको अस्पतालले जनाएको छ । अहिले नयाँ प्लान्ट मात्र सञ्चालन गरिएको छ । पुरानो प्लान्टबाट पनि उत्पादन गरेर अक्सिजन बिक्री गर्न सकिने अवस्थामा अस्पताल पुगेको छ । अस्पतालमा अब लिक्विडसहित तीन अक्सिजन प्लान्ट रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १५:०२