३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

कोशीमा हस्ताक्षर सनाखत कार्य सम्पन्न

२७ असोज, विराटनगर । कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङ्गको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाए ।

सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङ्गले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरे । तर आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन ।

नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरे ।

प्रकाशित मिति : October 14, 2023 at 12:51 pm