२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

२७ असोज, फुङ्लिङ (ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट झाङ्किएर लालीखर्क भरिभराउ भएको छ । सरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हँुदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो । असोज, कात्तिक र मङ्सिरमा पर्यटकले खचाखच हुने लालीखर्क विस्तारै सुनसान बन्दै गयो । पर्यटकको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरीसमेत किनबेच भएको थियो ।

धेरैले लालीखर्कमा घडेरी किनेर होटल सञ्चालन गरेका थिए । लालीखर्कको बिच भाग भएर अहिले सडक सिरिजङ्गा गाउँपालिकाको मांमाखे पुगेको छ । यस पदमार्ग हँुदै जाने पर्यटक गाडीमा हुत्तिएर मामांखे पुग्न थालेका छन् । लालीखर्कका होटल व्यवसायी भने धुलो खाँदै बस्नुपर्ने समय आएपछि बसाई सराई गर्न थालेका छन् । लालीखर्क क्षेत्रमा बसाइँसराइले घर खाली भएका छन् । विगतमा यहाँ १३ होटल सञ्चालनमा थिए । अहिले तीन परिवार मात्र बसोबास गर्दै आएका स्थानीय धनबहादुर विष्टले बताए । उनले भने, “लालीखर्क पहिला जस्तो छैन । सुनसान छ । मेरो परिवारका पनि सबैले घर छोडेर गइसकेका छन् । गाईबस्तुका कारण म यतै छु ।

किन्ने कोही आए बिक्री गरेर जाने सोच छ ।” लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भए । छरछिमेक घर छोडेर बसाई सरेर गए । पर्यकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्नथाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । घरमा होटलको साइनबोर्डसमेत देखन सकिन्छ । तर अहिले कहीँकतै एउटा गिलास चियार पनि पाइँदैन । स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो ।

लिम्बूले किवी खेती विस्तार गर्न थाले । लालीखर्कका फाँटमा किवीको बोट झाकिन थाल्यो । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गर्नुभएको लिम्बूले बताए । उनले भने, “यो साल पनि राम्रै फलेको छ ।” लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटमा दुईदेखि चार किलोसम्मको फल रहेको लिम्बूले बताए । अर्को वर्ष भने राम्रो उत्पादन हुने सङ्केत देखिएको लिम्बूले बताए । किवी विस्तार गरेसँगै लिम्बू आफ्नो नाममालालीखर्क कृषि फार्म दर्ता गरे । फार्मको उद्देश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले रु पाँच लाख अनुदान दिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।

अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको लिम्बूले बताए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसान किवीको राम्रो बजार देखेपछि यसप्रति आकर्षित भएका छन् । ताप्लेजुङमा अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती गर्न थालेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा किवी सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद÷बिक्री भएको किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका बुद्ध काम्बाङले किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उहाँको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १२:३७