कोशीमा कांग्रेस फुट्यो, संसदीय दलको उपनेताबाट हिमाल कार्कीको राजीनामा
२५ असोज, काठमाडौँ । सर्वोच्चको परमादेशका लागि एमाले फुटेकै शैलीमा कोशीमा नेपाली कांग्रेस पनि फुटेको छ । प्रधानमन्त्री निवासमा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयमा हस्ताक्षर गरेसँगै कोशी प्रदेशमा सभापतिको सहमति र निर्देशन विपरित कांग्रेसकै केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेर बहुमत जुटाएका छन ।
कार्कीले नेपाली कांग्रेसका ९ सांसदसहित एमालेका ३९ सांसदको समर्थन जुटाएका छन । केदार कार्कीले एमालेका सांसदको हस्ताक्षर र नेपाली कांग्रेसका सांसदहरू सशरिर उपस्थित गराएर मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन । योसँगै नेपाली कांग्रेसमा फुटको बिजारोपण भएको छ ।
यसअघि माओवादी र कांग्रेसले एमालेका १० सांसद सरकार बनाउने प्रयोजनका लागि लिएर एमाले फुटाएका थिए । कांग्रेसमा सभापतिको प्रत्यासी रहेका प्रभावशाली नेता डा शेखर कोइराल पक्षधरहरूले नयाँ अभ्यासको थालनी गरेका हुन । अहिले मुख्यमन्त्रीमा दाबी गरेका कार्की कोइराला निकट नै हुन । यता कांग्रेसको कोशी प्रदेशको संसदीय दलका नेता हिमाल कार्कीले पदबाट राजिनामा दिएका छन । उनले पनि केदार कार्कीको पक्षमा लागेको घोषणा गरेका छन ।
कार्की मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) बाट प्रदेशसभामा विजयी भएका थिए । यसअघि उनी प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत भैसकेका छन । कार्कीले नेकपा एमालेका पर्शुराम बस्नेतलाई पराजित गरेका थिए ।
प्रकाशित मिति : 20:40









