२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

इलामका १० जना नेपाली सिक्किममा बेपत्ता, बाढीमा परेकाे आशंका

२३ असोज,  इलाम ।  इलामबाट गएका  नेपाली भारतमा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीकै कारण हुनसक्ने आशंका गरिएको छ ।
स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत छन् ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको र  बस्नेतलगायत अन्यको विषयमा पछि अन्य व्यक्ति पनि बेपत्ता भएको जानकारी प्राप्त भएको  र यसबारे सिक्किमका मिडियामा खबर गरिसकेको बताए । बाढीका कारण त्यस स्थानमा पुग्न कठिन हुनाका साथै  टेलिफोन, विद्युत्लगायत सबै सञ्चारका माध्यम अवरुद्ध भएकाले कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ ।
नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यहाँका सुरक्षाकमीसँग कुराकानी भइरहेको र उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १३:०६