सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?
२१ असाेज, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनको ऋणपत्रमा आवेदन दिने म्याद थप भएकाे छ । बैंकले गत असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो।
बैंककाे ऋणपत्रमा मागबमोजिम आवेदन नपरेका कारण कात्तिक १ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएकाे धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ। मागभन्दा बढी आवेदन प्राप्त भएमा अब कात्तिक १ गतेभन्दा अगावै सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ। बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र बिक्री खुला गरेको छ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा सम्पूर्ण इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १०:१७