१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

-बलराम आचार्य

एक पटक सम्झनोस् त कमरेड अतितका दिनहरू
संघर्ष क्रान्ति र युद्धका कठिन छिनहरू
कति कठिन कष्टपूर्ण र कहाली लाग्दा !

गोल्डस्टार जुत्ता साथीले दिएको
पुराना सर्ट पाइन्ट र पुराना कोट
एउटा गरुङ्गो झोला धेरैतिर सिएको !

थकित र कुपोषण लागे जस्तै ज्यान
लिखुरे झुसिलकिरा झैँ दारी
परिवर्तनका सपना क्षितिज पारी चुम्ने ध्यान !

मध्यरातमा तिमीले ढोका ढकढकाउदा
मैले चामलको बोरा टकटक्याउदा
म निरास भै हडबडाउँदा !

तिमीले भनेका स्वर्णवाणी अझै सम्झिरहेछु
सुन कमरेड यो संघर्षको दिन हो
तपाईंकोमा हामी बस्ने एकै छिन हो
अन्याय बेथिति र निरंकुशता हटाउनु छ
यी फौजलाई आजै दुस्मन को घेरा कटाउनु छ
फुकाल आमाको गलाको तिलहरी
भाउजुको कानको ढुङ्ग्री र माडवारी !

म विवशः भए भुतुक्क गलेँ
भित्र भित्र तड्पिएर जलेँ
तिमी चिच्यायाै सुनले भनेको सुनिनस् कमरेड
मेरी आमा र श्रीमतीले सुन दिए
हत्त न पत्त तिम्रा अंगरक्षकले लिए
क्रान्ति सफल भो तिम्रो भाषामा
म गदगद भए परिवर्तनको आशामा !

खुसी भई तिमीलाई भेट्न सहर आएँ
तिमीलाई दर्शन गर्न धेरै पटक धाएँ
तिम्रा बंगला र महंगा गाडी
पचासौँ हजारका तिम्रा श्रीमतीलाई साडी
पहेलपुर छन् तिमी दुवैका गला र नाडी !

हत्त न पत्त बाहिर निस्कियौ
नजानिँदो पाराले मसँग जिस्कियौ !

मैले क्रान्तिको बेलैमा सुन कमरेड भनेको हैन
तिम्रै सामु सुन र पैसा गनेको हैन
अब त म चाहेर पनि तिम्रो भइन
तस्करी नगरेको दिन छइन !

भाषा बुझ गाउँतिर कुद
मेरो उद्देश्य नै सुन कमाउनु थियो
सहरमा सयलले रमाउनु थियो
म झस्किएँ चस्किए अनि बिस्तारै तर्किएँ
सुन कामरेडलाई अभिवादन गर्दै फर्किए !

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १४:४७